नयाँ गुठी विधेयक छिटै संसदमा पेस गर्छौँ : मन्त्री रावल
काठमाडौं : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नयाँ गुठी विधेयक छिटै संसदमा पेस गरिने बताएकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उच्च प्राथमिकताका साथ यथाशीघ्र नयाँ गुठी विधेयक संसदमा पेस गरिने जानकारी दिइन्।
उनले विगतमा राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता भएको पृष्ठभूमिलाई ध्यानमा राख्दै विज्ञ तथा सरोकारवालासँग गहन छलफल र परामर्श भइरहेको बताइन्। गुठी जग्गा केवल जमिनको स्वामित्वसँग मात्र सम्बन्धित विषय नभई धर्म, संस्कृति, परम्परा, सम्पदा संरक्षण तथा गुठीको आम्दानीबाट सञ्चालन हुने जात्रा–पर्वसँग समेत अभिन्न रूपमा जोडिएको संवेदनशील विषय भएको उनको भनाइ छ।
मन्त्री रावलले गुठी संस्थान ऐन, २०३३ अनुसार गुठी जग्गाका मोही किसानले मोही हक प्राप्त गर्ने, उक्त हक खरिद–बिक्री गर्न पाउने तथा धितो–बन्धक राख्न सकिने स्पष्ट कानुनी व्यवस्था रहेको बताइन्। गुठी अधीनस्थ जग्गामा मोहीले गुठी संस्थानको स्वीकृति लिएर तोकिएको दस्तुर तिरी घर वा टहरा बनाउन पाउने व्यवस्था रहेको उल्लेख गर्दै उनले मोहीहरू यस विषयमा नकारात्मक वा त्रसित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारिन्।
.gif)

.png)

