बाढीपहिरोको असरले सडक यातायात प्रभावित, केही खण्ड एकतर्फी सञ्चालनमा
काठमाडौं : बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध रहेको र केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको जनाएको छ।
कोशी प्रदेशअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिका–४ स्थित नेता भिरमा असोज २ गते बिहान पहिरो गएपछि कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरो हटाउन नसकिएकाले उक्त सडकखण्डमा अझै यातायात सञ्चालन हुन सकेको छैन। बागमती प्रदेशका विभिन्न जिल्लामा पनि बाढी तथा पहिरोका कारण सडक आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ। काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै विशेष यातायात व्यवस्था लागू गरिएको छ।
उक्त सडकखण्डमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द रहने व्यवस्था गरिएको छ। यस्तै, बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको अवस्था हेरेर १० टनसम्मका मालवाहक सवारीसाधन सञ्चालन गर्न दिने व्यवस्था गरिएको प्रहरीले जनाएको छ। रसुवाका मुख्य सडकहरूमा भने बाढीको प्रभाव कायमै छ। जिल्लाका मुख्य राजमार्गहरू बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। यस्तै, पासाङल्हामु सडकखण्डअन्तर्गत विदुर नगरपालिका–१० सिमटारमा बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
धादिङतर्फ भने केही सडकखण्डमा पहिरो हटाएर यातायात सञ्चालनमा ल्याइएको छ। पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाडखोला र शीतलबजारमा गएको पहिरो हटाएपछि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। अवरुद्ध सडकहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाल प्रहरीका टोली निरन्तर परिचालन भइरहेको बताइएको छ।
.gif)

.png)

