डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल


२०८३ असोज २२ बिहीबार १३:३४ बजे

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुल भुक्तानीका लागि डिजिटल माध्यम प्रयोग गर्न नागरिकलाई अपिल गरेका छन्।

डिजिटल प्रविधिको प्रयोग बढिरहेको अवस्थामा पनि अझै ७३ प्रतिशत नागरिकले भौतिक रूपमा विद्युत् महसुल संकलन काउन्टरमै पुगेर महसुल तिर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै मन्त्री श्रेष्ठले यस अवस्थालाई परिवर्तन गर्न सबैको सहयोग आवश्यक रहेको बताएका हुन्।

नेपाल विद्युत् प्राधिकरणका १२९ वितरण केन्द्रअन्तर्गतका शाखामा हाल ६५५ वटा महसुल संकलन काउन्टर सञ्चालनमा छन्।

ती काउन्टर सञ्चालनमा मात्रै वार्षिक करिब ५९ करोड ७९ लाख रुपैयाँ खर्च हुने गरेको मन्त्री श्रेष्ठले जानकारी दिनुभएको छ।

‘नेपाल विद्युत् प्राधिकरणका १२९ वितरण केन्द्रअन्तर्गतका प्रशाखामा हाल ६५५ वटा महसुल संकलन काउन्टर सञ्चालनमा छन्।

यी काउन्टर सञ्चालनमा मात्र वार्षिक करिब ५९ करोड ७९ लाख रुपैयाँ खर्च हुन्छ, अर्थात् मासिक करिब ५ करोड रुपैयाँ,’ उनले फेसबुकमार्फत भनेका छन्।

मन्त्री श्रेष्ठले डिजिटल माध्यमबाट महसुल भुक्तानी गर्दा नागरिकको समय र आवतजावत खर्च बचत हुने तथा नगद कारोबार घट्दा वित्तीय पारदर्शिता र सुरक्षासमेत बढ्ने बताएका छन्।

त्यस्तै, काउन्टर सञ्चालनमा प्रयोग भइरहेको स्रोत र जनशक्तिलाई अन्य आवश्यक ग्राहक सेवामा परिचालन गर्न सकिने उनको भनाइ छ।

उहाँले परिवार, इष्टमित्र, छरछिमेकी तथा चिनजानका नागरिकलाई डिजिटल भुक्तानीबारे जानकारी दिन र सिकाउन आग्रह गरेका छन्।

विशेषगरी डिजिटल भुक्तानी गर्न नजान्ने बुबाआमा, ज्येष्ठ नागरिक तथा आफन्तलाई एकपटक सिकाइदिन आग्रह गर्दै मन्त्री श्रेष्ठले आजैदेखि सम्भव भएसम्म डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न सहयोग गर्न अपिल गर्नुभएको छ।

‘तपाईंले दिएको केही मिनेटको समयले उहाँहरूको हरेक महिनाको समय बचाउन सक्छ,’ उनले भने।

मन्त्री श्रेष्ठले डिजिटल भुक्तानीको प्रवर्द्धनलाई केवल प्रविधिको प्रयोग बढाउने अभियानका रूपमा नभई नागरिकको समय बचत, सेवा सहजता, वित्तीय पारदर्शिता र सार्वजनिक स्रोतको प्रभावकारी सदुपयोगसँग जोडिएको साझा अभियानका रूपमा लिनुपर्ने बताए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७