सत्तापक्षको धारणा हेरेपछि मात्रै महाअभियोगबारे निर्णय गर्छौं : आङ्देम्बे
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगका विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै प्रतिपक्षी दलहरूले आफ्नो साझा धारणा बनाउने बताएका छन् ।
कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले महाअभियोग लगाउने विषयमा सत्तापक्षभित्रै टुंगो लागिनसकेको उल्लेख गरे । सत्तापक्षले यो विषयलाई कसरी अघि बढाउँछ भन्ने कुरा आफूहरूले हेरिरहेको उनको भनाइ थियो ।
महाअभियोगजस्तो गम्भीर विषयमा पार्टीभित्र पर्याप्त छलफल हुनुपर्नेमा जोड दिँदै आङ्देम्बेले पार्टीले एउटा धारणा राख्ने तर संसदीय दल अर्कै दिशामा अघि बढ्ने अवस्था उचित नहुने बताए ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दिएको निर्देशन संसदीय दलले पालना गरिरहेको छ वा छैन भन्ने विषयमा पनि आफूहरू स्पष्ट नरहेको नेता आङ्देम्बेले बताए ।
‘उहाँहरूले दिएको निर्देशन उहाँहरूको संसदीय दलले मानिरहेको छ कि छैन भन्ने कुरा पनि हामीलाई थाहा छैन,’ आङ्देम्बेले भने, ‘यस्तो गम्भीर र महत्त्वपूर्ण विषयमा संसद्भित्र रहेका दलका पार्टीहरूले कसरी चासो व्यक्त गर्छन् र त्यो चासोलाई संसद्ले कसरी ग्रहण गरेर अघि बढ्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।’
रास्वपा विश्वसनीय धारणा र तयारीसहित प्रस्तुत भएपछि प्रतिपक्षी दलहरू बसेर साझा धारणा तय गर्ने उनले बताए।
‘उहाँहरू विश्वसनीय धारणासहित प्रस्तुत हुनुहोस्। त्यसपछि हामी प्रतिपक्षी दलहरू बसेर आफ्नो धारणा बनाउँछौँ,’ उनले भने, ‘साझा धारणा बनिसकेपछि राम्रा कामका लागि हामी हिजो पनि साथमा थियौँ, आज पनि साथमा छौँ।’
.gif)

.png)




