जनार्दन शर्माको भिडियो सन्देश : म प्रमाणसहित छलफल गर्न तयार छु


२०८२ असोज २८ मंगलबार २०:४९ बजे

काठमाडौँ : माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले पछिल्लो समय आफूविरुद्ध सञ्चालित ‘दुष्प्रचार’को भर्त्सना गर्दै दुई महत्त्वपूर्ण विषयको उठान गरेका छन् ।

शर्माले २०४६ सालपछि उच्च ओहदामा बसेका सबै नेतादेखि कर्मचारीसम्मको सम्पत्ति छानबिन गरिनु पर्ने माग गर्दै यस सम्बन्धमा आफैँले पार्टी र संसदमा लिखित प्रस्ताव पेस गरिसकेको दाबी गरेका छन् । उनले भने, 'म दृढताका साथ भन्छु, २०४६ सालपछि ओहदामा बसेका सबैको सम्पत्ति छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्छ भन्ने माग राखेको छु।'

पूर्वअर्थमन्त्री शर्माको कार्यकालमा बजेट निर्माण प्रक्रियामा बाह्य हस्तक्षेपको आरोप उठेको थियो । त्यसबेला मन्त्रालयको सिसिटिभी फुटेज हटाइएको दाबीसमेत सार्वजनिक भएपछि उनी विवादमा परेका थिए । अहिले फेरि सो प्रकरणबारे प्रश्न उठ्दै गर्दा उनले संसदीय छानबिनको माग आफैँले गरेको स्मरण गराउँदै भनेका छन्, 'मैले तत्काल छानबिनको माग गरेँ, संसदीय समिति बन्यो र कुनै पुष्टि भएन।'

उनका अनुसार छानबिन समितिले प्रमाण फेला नपरेपछि मात्र उनी पुनः मन्त्रीको जिम्मेवारीमा फर्किएको बताएका छन् । उनले थपे, 'प्रश्न उठ्ने बित्तिकै मैले नैतिकताका आधारमा राजीनामा दिएको थिएँ, कुनै आन्दोलन वा संसद बन्द गर्नुपरेन।'

शर्माले आफ्नो र परिवारको सम्पत्ति सम्बन्धमा फैलाइएको विषयलाई 'झूटो र भ्रमपूर्ण' भनेका छन् । 'मेरो सम्पत्ति न्यूयोर्कमा छ वा ग्यास स्टेसन छ भन्ने प्रचार झूटो हो,' भन्दै उनले स्पष्ट पारे, 'मेरा छोराछोरी विदेशमा छैनन्, यही देशमा श्रम गरिरहेका छन्।'

चारवटा मन्त्रालय सम्हालिसकेका शर्माले आफ्नो कार्यकालमा गरेका सुधारहरूबारे प्रमाणसहित छलफल गर्न तयार रहेको बताएका हुन् । विशेष गरी ऊर्जा मन्त्री हुँदा लोडसेडिङ अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेलेको दाबी गर्दै उनले भने, 'म प्रमाणसहित छलफल गर्न तयार छु।'

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७