खगेन्द्र सुनारको अभिव्यक्तिप्रति रास्वपाको धारणा सार्वजनिक


२०८२ माघ १६ शुक्रबार २०:२९ बजे

काठमाडौँ : बाँके क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार खगेन्द्र सुनारको अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। राष्ट्रिय जनावर गाईसँग सम्बन्धित टिप्पणी विवादमा आएपछि पार्टीले यस विषयमा गम्भीर चासो व्यक्त गरेको हो।

पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले शुक्रबार जारी गरेको विज्ञप्तिमा सुनार पार्टीमा आबद्ध हुनु अघि व्यक्त विचारका कारण समाजमा उत्पन्न अन्योल र धार्मिक तथा सांस्कृतिक भावनामा परेको असरप्रति पार्टीको तर्फबाट क्षमा याचना गरिसकिएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा उम्मेदवार सुनारले आफू शाकाहारी रहेको, कुनै पनि पशु-पंक्षीको हत्या समर्थन नगर्ने र राष्ट्रिय जनावरप्रति पूर्ण सम्मान रहेको कुरा सार्वजनिक रूपमा स्पष्ट गरिसकेको जनाइएको छ । सामाजिक सञ्जालमा प्रसारित केही सामग्री सन्दर्भविहीन रूपमा प्रस्तुत हुँदा भ्रम सिर्जना भएको भए पनि त्यसबाट आहत भएका भावनाप्रति उनले आत्मालोचना गर्दै माफी मागेको पार्टीले जनाएको छ ।

महामन्त्री बुर्लाकोटीका अनुसार घटनापछि पार्टीले सुनारलाई भविष्यमा अभिव्यक्ति र व्यवहारमा थप जिम्मेवार, संयमित र सार्वजनिक मर्यादा अनुरूप रहन सचेत गराएको छ। पार्टीको आन्तरिक मूल्याङ्कनमा सुनारको आशय धर्म, संस्कृति वा राष्ट्रिय प्रतीकको अपमान गर्ने नभएको निष्कर्ष निकालिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

रास्वपाले आफ्नो विधान र प्रस्तावनाले नेपालको ऐतिहासिक पृष्ठभूमि, सनातन परम्परा तथा धार्मिक-सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मानलाई मूल आधार मानेको स्पष्ट पारेको छ । साथै, देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणप्रति पार्टी सदैव प्रतिबद्ध रहेको जनाएको छ।

विज्ञप्तिमा कुनै पनि किसिमका उत्तेजनात्मक गतिविधि वा सामाजिक सद्भाव कमजोर बनाउने कार्यको पक्षमा पार्टी नरहेको स्पष्ट गरिएको छ । साथै, पार्टीका उम्मेदवारहरू निर्वाचन जित्ने उद्देश्यमा मात्र सीमित नरही भावी संसद्मा मर्यादित, संयमित र विधि–विधानको सम्मान गर्ने नेतृत्व प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

रास्वपाले विधिको शासन, सामाजिक न्याय तथा धार्मिक र सामाजिक सद्भाव कायम राख्दै समावेशी समाज निर्माणको अभियानमा निरन्तर अडिग रहने प्रतिबद्धता दोहोर्‍याएको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७