जापानमा चौबिसै घण्टा सेवा दिने स्वचालित मेसिन संकटमा
सञ्चालन खर्च धान्नै गाह्रो, नाफा जोगाउन कम्पनीहरूलाई हम्मे-हम्मे
काठमाडौं : जापानको गल्ली–गल्ली र पर्यटकीय क्षेत्रमा देखिने चर्चित ‘भेन्डिङ मेसिन’ संस्कृति अहिले गम्भीर चुनौतीको घेरामा परेको छ। विश्वभर बढ्दो मूल्यवृद्धिको बाछिटाले जापानको यो स्वचालित खुद्रा व्यापारलाई पनि नराम्ररी प्रभावित पारेको छ ।
कुनै समय सडक किनारदेखि माउन्ट फुजीको चुचुरोसम्म चौबिसै घण्टा सेवा दिने यी मेसिनहरू अहिले सञ्चालन खर्च धान्न नसक्ने अवस्थामा पुगेका छन्।
किन संकटमा पर्दैछ भेन्डिङ मेसिन ?
भेन्डिङ मेसिन यस्तो स्वचालित यन्त्र हो, जहाँ ग्राहकले नगद वा डिजिटल भुक्तानी गरेर मानव विक्रेता बिना नै पेय पदार्थ, स्न्याक्स वा अन्य दैनिक उपभोग्य वस्तुहरू प्राप्त गर्न सक्छन्। तर, पछिल्लो समय यसको सञ्चालन लागतमा उल्लेख्य वृद्धि भएको छ ।
बढ्दो लागत, इन्धन, ढुवानी र बिजुलीको महसुल बढेपछि मेसिन चलाउनु महँगो भएको छ।जनशक्तिको अभाव, मेसिनमा सामान भर्ने र मर्मत गर्ने कामदारहरूको पारिश्रमिक बढ्दा कम्पनीहरूको नाफामा भारी गिरावट आएको छ। बदलिँदो उपभोक्ता बानीसाथै महँगी बढेपछि जापानी उपभोक्ताहरू मेसिनको सट्टा सुपरमार्केट र औषधि पसलमा पाइने सस्तो पेय पदार्थतर्फ आकर्षित हुन थालेका छन्।
व्यापारिक घाटा कम गर्न जापानका ठूला पेय पदार्थ उत्पादकहरूले आफ्नो सञ्जाललाई पुनर्गठन गर्न थालेका छन्। केही कम्पनीले नाफा नहुने क्षेत्रबाट हजारौँ मेसिनहरू हटाउने निर्णय गरेका छन् भने कतिपयले आफ्नो भेन्डिङ व्यवसाय नै बिक्री गर्ने तयारी गरिरहेका छन्।
बढ्दो वातावरणीय सचेतनाका कारण पनि मानिसहरूले एकपटक प्रयोग गरिने प्लास्टिकका बोतल त्यागेर आफ्नै ‘रियुजेबल’ बोतल बोक्न थालेका छन्। यसले पनि भेन्डिङ मेसिनको व्यापारलाई थप खुम्च्याएको छ।
अबको भविष्य के ?
विज्ञहरूका अनुसार जापानबाट भेन्डिङ मेसिन पूर्ण रूपमा हराउने छैन। यसको सहज पहुँच र सुविधालाई अन्य विकल्पले प्रतिस्थापन गर्न कठिन छ। यद्यपि, भविष्यमा कम्पनीहरूले जथाभाबी मेसिन राख्नुको सट्टा उच्च माग भएका र रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानहरूमा मात्र मेसिन केन्द्रित गर्ने देखिन्छ।
.gif)

.png)

