रवि लामिछानेले बोलाए संसदीय दलको बैठक


२०८३ भदौ ३ बुधबार ०९:५४ बजे

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको संसदीय दलको बैठक बोलाएका छन्। सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बिहान ११ बजे बैठक बस्ने तय भएको छ। बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।

संसद्मा पार्टीका सांसदहरूको उपस्थिति घट्दै गएको र सदनभित्र उनीहरूको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको भन्दै लामिछानेले संसदीय दलको गतिविधिमा सक्रियता बढाएका हुन्।

रास्वपाका एक पदाधिकारी तथा सांसदका अनुसार लामिछानेकै पहलमा बैठक बोलाइएको हो। उनका अनुसार बैठकमा संसद्मा सांसदहरूको भूमिका, उपस्थिति र सदनमा पार्टीको प्रस्तुतिबारे सभापति लामिछानेले आवश्यक निर्देशन दिने तयारी छ।

रास्वपाको संसदीय दलको नेतृत्व भने प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह (बालेन) ले गरिरहेका छन्। तर, संसदीय दलको नेताको जिम्मेवारीमा रहेका शाह हालसम्म एकपटक मात्र संसदीय दलको बैठकमा सहभागी भएको रास्वपा नेताहरू बताउँछन्।

आजको बैठकमा पनि प्रधानमन्त्री शाह सहभागी हुने सम्भावना न्यून रहेको उनीहरूको भनाइ छ। यसैबीच सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाहलाई आगामी भदौ १० गते प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन उपस्थित हुन आग्रह गरेका छन्। संसद्मा प्रधानमन्त्रीको जवाफदेहिता र रास्वपाका सांसदहरूको भूमिकालाई लिएर चर्चा भइरहेका बेला लामिछानेले संसदीय दलभित्र आफ्नो सक्रियता बढाएका हुन्।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। त्यसअघि नै रास्वपा सभापति लामिछानेले संसदीय दलको बैठक राखेका हुन्। बैठकमा सांसदहरूको नियमित उपस्थिति, सदनमा पार्टीको प्रभावकारी प्रस्तुति तथा आगामी दिनको संसदीय रणनीतिबारे छलफल हुने बताइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७