चीनतर्फ पुरिएको ताल पूरै खुलेन, भोटेकोसी–त्रिशूली क्षेत्र उच्च जोखिममा
काठमाडौं : भोटेकोसी नदीमा फेरि बाढी आउन सक्ने जोखिम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। चीनतर्फ नदी थुनिएको स्थानमा बनेको ताल पूर्ण रूपमा नखुलेका कारण भोटेकोसी र त्रिशूली नदी आसपासको जोखिम अझै कायम रहेको प्राधिकरणले जनाएको हो।
प्राधिकरणका अनुसार चिनियाँ अधिकारीहरूले बुधबार दिउँसो १ः३५ बजे पठाएको सूचनामा नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेको जानकारी गराएका छन्। त्यसका कारण तालबाट एक्कासि पानीको बहाव बढ्न सक्ने सम्भावना रहेकाले नेपालतर्फका नदी आसपासका क्षेत्रमा सतर्कता आवश्यक रहेको जनाइएको छ।
प्राधिकरणले चीनबाट प्राप्त सूचनालाई आधार बनाउँदै अर्को सूचना जारी नभएसम्म भोटेकोसी र त्रिशूली नदी आसपासका नागरिकलाई नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। भोटेकोसी हुँदै त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा बाढीको बहाव पुग्ने भएकाले नदी किनारका बस्तीमा थप जोखिम देखिएको छ। यसअघि आएको बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याइसकेको छ।
प्राधिकरणले सम्भावित थप बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी आसपासका नागरिकलाई सतर्क रहन, जोखिमयुक्त स्थानमा नबस्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनालाई पालना गर्न आग्रह गरेको छ। चीनतर्फ थुनिएको नदी पूर्ण रूपमा नखुलेसम्म भोटेकोसी र त्रिशूली क्षेत्रमा जोखिम कायम रहने भएकाले तत्कालका लागि नदीबाट सुरक्षित दूरी कायम गर्नुपर्ने प्राधिकरणको भनाइ छ।
.gif)

.png)

