बाढी प्रभावितको उद्दारका लागि २० हेलिकप्टर तयारी अवस्थामा, थप १० परिचालन
काठमाडौं : बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको उद्धारलाई तीव्र बनाउन सरकारले २० वटा हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोअर्डिनेसन सेन्टर (आरसीसी) मार्फत बिहीबार बिहान साढे ६ बजेदेखि हेलिकप्टर तयारी अवस्थामा राखिएको हो।
बाढी प्रभावित क्षेत्र आसपास यसअघि नै १० वटा हेलिकप्टर परिचालन भइसकेका छन्। प्रभावित क्षेत्रमा तत्काल उद्धार आवश्यक परे स्ट्यान्डबाइमा रहेका हेलिकप्टरसमेत आवश्यकता र प्राथमिकताका आधारमा परिचालन गरिनेछ। उद्धारका लागि कुन क्षेत्रमा हेलिकप्टर पठाउने भन्ने निर्णय विभिन्न स्रोतबाट प्राप्त सूचनाका आधारमा गरिने व्यवस्था मिलाइएको छ। प्रधानमन्त्री कार्यालयको हटलाइन सेन्टर, गृह मन्त्रालय तथा अन्य माध्यमबाट प्राप्त सूचनाको विश्लेषण गरी उद्धार आवश्यक पर्ने क्षेत्र पहिचान र प्राथमिकता निर्धारण गरिनेछ।
त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)को निर्देशनअनुसार सम्बन्धित क्षेत्रमा हवाई उद्धार टोली परिचालन गरिने जनाइएको छ। बाढीका कारण प्रभावित क्षेत्रमा फसेका नागरिकलाई सुरक्षित स्थानमा ल्याउने, राहत सामग्री पुर्याउने तथा तत्काल आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखिएको छ।
एनडीआरआरएमएले उद्धार वा राहत आवश्यक परेका नागरिकलाई तत्काल जानकारी गराउन आग्रह गरेको छ। प्रभावितले प्राधिकरणको आधिकारिक पोर्टल
मार्फत उद्धार तथा राहतको मागसम्बन्धी विवरण पठाउन सक्नेछन्। प्राप्त विवरणका आधारमा सुरक्षा निकाय, स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्यलाई तीव्र बनाइने प्राधिकरणले जनाएको छ।
.gif)

.png)

