रसुवा बाढीको मानवीय क्षति बढ्दै, १७५ जनाको मृत्यु; ४७६ अझै बेपत्ता

२८ देशका नागरिक प्रभावित, ४७६ जनाको अवस्था अझै अज्ञात


२०८३ भदौ ११ बिहीबार ११:३९ बजे

काठमाडौं : चीनको तिब्बत क्षेत्रबाट आएको हिमपहिरोपछि भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १७५ पुगेको छ। बाढीपछि २८ देशका ४७६ जना अझै बेपत्ता रहेको नेपालस्थित नेपाली दूतावास स्रोतलाई उद्धृत गर्दै जनाइएको छ।

सरकारले खोज तथा उद्दार अभियानलाई निरन्तरता दिइरहेकाले मृतक र बेपत्ताको संख्या थप परिवर्तन हुन सक्ने जनाएको छ। प्रभावित क्षेत्रमा फसेका नागरिकको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र राहत वितरणलाई सरकारले प्राथमिकतामा राखेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का अनुसार रसुवामा थप शव फेला पर्ने क्रम जारी छ। फेला परेका शवको पहिचान गर्ने काम पनि भइरहेको छ।

प्रारम्भिक विवरणअनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन्। यस्तै, नेपाल पर्यटन बोर्डको प्रारम्भिक तथ्यांकमा ४६६ विदेशी र ११३ नेपाली गरी ५७९ यात्रुको अवस्था अज्ञात रहेको उल्लेख छ। टिमुरेबाट मात्रै ९४ नेपाली र २९ विदेशी गरी १२३ जनालाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा उद्धार गरिएको जनाइएको छ।

प्रारम्भिक प्राविधिक अध्ययनअनुसार तिब्बतको रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको ल्हेन्दे खोलामा हिमनदी वा बरफको चट्टान खसेपछि ठूलो परिमाणमा माटो र ढुंगा मिसिएको बाढी आएको अनुमान गरिएको छ। बाढी भोटेकोशी हुँदै रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी पार गरेर त्रिशूली नदीमा मिसिएको थियो।

बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। हालसम्म ३५ मोटरेबल पुल, ४५ झोलुङ्गे पुल र करिब ४० किलोमिटर कालोपत्रे सडक क्षतिग्रस्त भएको पुष्टि भएको छ। जलविद्युत् आयोजना, घर तथा अन्य पूर्वाधारको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।

उद्दारमा सुरक्षा निकाय र हेलिकोप्टर परिचालन

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थलगत खोज तथा उद्धार अभियानलाई निरन्तरता दिएका छन्। सैन्य तथा निजी क्षेत्रका हेलिकोप्टरमार्फत टिमुरे र स्याफ्रुबेँसीमा फसेका नागरिकको उद्धार भइरहेको छ।

घाइतेको उपचारका लागि जिल्ला अस्पतालदेखि काठमाडौंका प्रमुख अस्पतालसम्म चिकित्सकीय टोली परिचालन गरिएको छ। प्रभावितका लागि अस्थायी आश्रय, खाद्यान्न, खानेपानी र औषधिको व्यवस्था सुरक्षित स्थान तथा नेपाली सेनाका ब्यारेकबाट भइरहेको जनाइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७