चिनियाँ राजदूतलाई प्रश्न: यो संकटमा दुवै सरकारहरूबीच कस्तो समन्वय भइरहेको छ ?
‘चीनतर्फ ठूलो क्षति भए पनि नेपाललाई सहयोग गर्न समन्वय सुरु भइसकेको छ’
काठमाडौँ : नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको विनाशकारी बाढीका कारण चीनतर्फ पनि ठूलो क्षति पुगेको भए तापनि नेपाललाई आवश्यक आपत्कालीन सामग्री तथा नगद सहायता उपलब्ध गराउन तत्काल समन्वय सुरु गरिसकिएको बताएका छन्।
एनटीभी वर्ल्डसँग कुराकानी गर्दै राजदूत चाङले संकटको यस घडीमा चीन नेपालसँग दृढतापूर्वक उभिएको र सम्भव भएसम्म सबै प्रकारको सहयोग तथा सहायता उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका हुन्।
राजदूत चाङका अनुसार हाल उपलब्ध प्रारम्भिक सूचनाअनुसार नेपालतर्फ गएको भूकम्पले हिमपहिरो निम्त्याएको र त्यसपछि आएको हिलोपहिरोका कारण नेपाल–चीन सीमाको केरुङ–रसुवागढी क्षेत्रमा दुवैतर्फ ठूलो जनधनको क्षति भएको छ। उक्त घटनामा दुवैतर्फ मानिसहरू बेपत्ता भएको उनले जानकारी दिए।
उनले यो विवरण हालसम्म प्राप्त प्रारम्भिक सूचनामा आधारित रहेको स्पष्ट पारे। प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति चीन सरकारका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै राजदूत चाङले मृतकका परिवार, नेपाल सरकार तथा नेपाली जनताप्रति समवेदना प्रकट गरे। उनले कठिन परिस्थितिमा चीन नेपालसँग दृढतापूर्वक उभिएको र घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताए।
राष्ट्रपति सीको उद्धार र राहतमा जोड
राजदूत चाङका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले विपत्तिलाई उच्च प्राथमिकताका साथ लिँदै उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन महत्वपूर्ण निर्देशन दिएका छन्। राष्ट्रपति सीले बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धारलाई पहिलो प्राथमिकता दिन, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आश्रयको व्यवस्था गर्न, घाइतेको तत्काल उपचार गर्न तथा मानवीय क्षति न्यूनतम बनाउन निर्देशन दिएको उनले बताए।
त्यस्तै, विपद्को निरन्तर निगरानी तथा पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन, वैज्ञानिक आधारमा उद्धार कार्य सञ्चालन गर्न र सम्भावित थप विपद् रोक्न पनि राष्ट्रपति सीले जोड दिएको राजदूत चाङले जानकारी दिए।
चिनियाँ राजदूत झाङ माओमिङले एनटिभी वर्ल्ड सँग गरेको कुराकानीको नेपाली अनुवाद:
१. बाढी कसरी सुरु भयो भन्ने विषयमा दूतावाससँग केही जानकारी छ कि?
सबैभन्दा पहिले, म के स्पष्ट पार्न चाहन्छु भने चिनियाँ पक्ष यस अत्यन्तै दुःखद प्राकृतिक विपत्तिबाट निकै दुःखी भएको छ। हामी यस घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ र शोकसन्तप्त परिवारका साथै नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। यस कठिन समयमा हामी नेपालको साथमा दृढताका साथ उभिएका छौँ। चीनले यस घटनाक्रमलाई नजिकबाट नियालिरहनेछ र सम्भव भएसम्मका सबै सहयोग र सहायता उपलब्ध गराउन आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्नेछ। हामी नेपाली पक्षसँग मिलेर काम गरिरहेका छौँ र यस विपद्को सामना गर्न एकअर्कालाई सहयोग गरिरहेका छौँ। मलाई विश्वास छ, हातेमालो गरेर हामी यी कठिनाइहरूलाई पार गर्नेछौँ र हाम्रा सुन्दर घरहरू पुनः निर्माण गर्नेछौँ।
हाल प्राप्त प्रारम्भिक जानकारीका अनुसार, आज बिहान नेपाली भूभागमा भूकम्प गएको थियो, जसका कारण हिमपहिरो खस्यो र त्यसपछिको लेदोसहितको पहिरोले केरुङ-रसुवागढी सीमा क्षेत्रका नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय क्षति पुर्याउनुका साथै मानिसहरू बेपत्ता भएका छन्।
२. यस विषयमा दुवै सरकारहरूबीच कस्तो समन्वय भइरहेको छ?
चिनियाँ राष्ट्रपति सी जिनपिङले यस विपद्लाई गम्भीरताका साथ लिँदै महत्त्वपूर्ण निर्देशनहरू जारी गर्नुभएको छ। उहाँले बेपत्ता भएका व्यक्तिहरूको खोज तथा उद्धारका लागि हरसम्भव प्रयास गर्ने, जोखिममा रहेका मानिसहरूलाई स्थानान्तरण गरी आश्रय दिने, घाइतेहरूको तत्काल उपचार गर्ने र मानवीय क्षतिलाई अधिकतम रूपमा न्यूनीकरण गर्ने कार्यलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रपति सीले अनुगमन र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन, वैज्ञानिक उद्धार कार्य सुनिश्चित गर्न र द्वितीयक विपद्हरू रोक्न आवश्यक रहेको बताउनुभएको छ।
विपद्लगत्तै नेपालस्थित चिनियाँ दूतावासले तुरुन्तै आफ्नो आपत्कालीन प्रतिकार्य संयन्त्र सक्रिय बनाएको थियो। दूतावासले नेपालका प्रभावित क्षेत्रमा रहेका चिनियाँ नागरिक र उद्योगहरूको अवस्था मूल्याङ्कन गर्नुका साथै नेपाली सरकार र सम्बन्धित निकायहरूलाई उद्धार कार्यका लागि हरसम्भव प्रयास गर्न अनुरोध गरेको छ। चिनियाँ दूतावासले घटनास्थलमै उद्धार कार्यको समन्वय र सहजीकरणका लागि एउटा कार्यटोली पनि तुरुन्तै प्रभावित क्षेत्रमा खटाएको छ। सीमाको चिनियाँ तर्फ पनि ठूलो क्षति भएको भए तापनि, चिनियाँ पक्षले नेपाललाई आपत्कालीन सामग्री र नगद सहायता उपलब्ध गराउन तत्काल समन्वय सुरु गरिसकेको छ।
हाल, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य तथा चीनको स्टेट काउन्सिलका उपप्रधानमन्त्री महामहिम झाङ गुओछिङ सम्बन्धित मन्त्रालयका अधिकारीहरूसहित उद्धार तथा राहत कार्यको मार्गदर्शन गर्न सिजाङ (तिब्बत) पुग्नुभएको छ। परराष्ट्र मन्त्रालय, जलस्रोत मन्त्रालय, चीन मौसम विज्ञान प्रशासन, आपत्कालीन व्यवस्थापन मन्त्रालय र सिजाङ स्वायत्त क्षेत्रका अधिकारीहरू लगायत सम्बन्धित चिनियाँ निकायहरूले आफ्ना नेपाली समकक्षीहरूसँग समन्वय संयन्त्र स्थापना गरेका छन्। उद्धार योजनाहरूलाई तीव्रता दिँदै विपद् मूल्याङ्कन, खोज तथा उद्धार, र त्यसपछिका प्रतिकार्यहरूमा समन्वयलाई सुदृढ बनाइरहेका छन्।
म यस अवसरमा नेपाल सरकार र सम्बन्धित निकायहरूले नेतृत्व गरेको सशक्त प्रतिकार्य र प्रभावकारी प्रयासका साथै नेपाली जनताले देखाएको सहनशीलता र अथक प्रयासको पनि उच्च सराहना गर्न चाहन्छु।
३. भविष्यमा यस्ता विपद्को प्रभाव न्यूनीकरण गर्न दुई देशले कसरी थप सहकार्य गर्न सक्छन्?
यस विपद्को सामना गर्ने क्रममा नेपाल र चीन दुवैले धेरै कुरा सिक्न सक्छन्। चीन र नेपालले विपद् व्यवस्थापन, न्यूनीकरण र आपत्कालीन कार्यहरूमा सहकार्यलाई थप सुदृढ बनाउनु र प्राकृतिक विपद्को सामना गर्ने हाम्रा क्षमताहरूलाई निरन्तर अभिवृद्धि गर्नु अत्यावश्यक छ। यसका लागि कम्तीमा तीनवटा काम गर्न सकिन्छ:
-
पहिलो: दुवै पक्षले मौसम विज्ञान, जलविज्ञान र भूगर्भीय विपद् जस्ता क्षेत्रहरूमा सूचना आदानप्रदान, अनुगमन र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सक्छन्। साथै सीमापार विपद् सम्बन्धी सूचना साझा गर्ने संयन्त्रमा सुधार गर्दै प्रारम्भिक पहिचान, पूर्वसूचना र द्रुत प्रतिकार्य हासिल गर्ने लक्ष्य राख्न सक्छन्।
-
दोस्रो: दुवै पक्षले आपत्कालीन उद्धारमा सञ्चार, समन्वय र संस्थागत विकासलाई सुदृढ बनाउन सक्छन् भने अकस्मात आउने विपद्का बेला समन्वयात्मक प्रतिकार्य र उद्धार सहकार्यका संयन्त्रहरूमा थप सुधार गर्न सक्छन्।
-
तेस्रो: दुवै पक्षले जनशक्ति तालिम, प्राविधिक आदानप्रदान र आपत्कालीन सामग्रीको सहयोगलाई सुदृढ बनाउन सक्छन् र स्थानीय स्तरमा पनि विपद् रोकथाम, न्यूनीकरण र आपत्कालीन प्रतिकार्य क्षमता अभिवृद्धि गर्न सक्छन्।
नेपाल र चीन हिमाल र नदीहरूले जोडिएका छिमेकी राष्ट्र हुन्। दुई देशबीच परम्परागत मित्रता र सहकार्य रहँदै आएको छ। नेपालको आवश्यकता अनुसार आफ्नो क्षमताले भ्याएसम्म निरन्तर सहयोग र सहायता उपलब्ध गराउन, दुवै देशको प्राकृतिक विपद् प्रतिकार्य क्षमता संयुक्त रूपमा बढाउन र नेपाल तथा चीनका जनताको धनजनको रक्षा गर्न चीन सधैँ तयार छ।
.gif)

.png)

