सन्दीपको कप्तानीमा नेपालको पहिलो खेल, बहराइनविरुद्ध फिल्डिङ


२०८३ भदौ १५ सोमबार ०७:४० बजे
तस्बिरः क्यान

काठमाडौं : एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले बहराइनविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। मलेसियाको यूकेएम–वाईएसडी ओभलमा भएको टसमा नेपालका कप्तान सन्दीप लामिछानेले बाजी मार्दै बहराइनलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।

सन्दीप कप्तानमा फर्किएपछि यो नेपालको पहिलो आधिकारिक खेल हो। नेपाल क्रिकेट संघ (क्यान) ले गत महिना रोहितकुमार पौडेललाई हटाएर सन्दीपलाई एकदिवसीय टोलीको कप्तानको जिम्मेवारी दिएको थियो। सन्दीपलाई पुनः कप्तानी दिइएको विषयलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले समेत पुष्टि गरेको छ।

नेपालले प्रतियोगिताको तयारीका लागि भारतमा १० दिनको प्रशिक्षण शिविर सञ्चालन गरेको थियो। त्यस क्रममा कर्नाटकको टोलीसँग दुई अभ्यास खेल खेलेको नेपालले दुवैमा जित निकालेको थियो। मलेसियासँग खेलेका दुई अभ्यास खेलमा पनि नेपालले क्रमशः ९ विकेट र २७ रनको जित हात पारेको थियो।

नेपाल यसपटक प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको हो। प्रतियोगिताको विजेताले आगामी एसिया कपमा स्थान बनाउने भएकाले नेपालका लागि समूह चरणदेखि नै हरेक खेल महत्त्वपूर्ण छ। नेपाल र बहराइनबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम–वाईएसडी क्रिकेट ओभलमा भइरहेको छ। दुवै टोलीका लागि यो प्रतियोगिताको पहिलो खेल हो।

नेपालको समूहमा मलेसिया, बहराइन, साउदी अरेबिया र हङकङ छन्। नेपालले बहराइनपछि सेप्टेम्बर ३ मा मलेसिया, सेप्टेम्बर ६ मा साउदी अरेबिया र सेप्टेम्बर ८ मा हङकङसँग खेल्नेछ। नेपालले यसअघि २०२३ मा अपराजित रहँदै प्रिमियर कपको उपाधि जितेको थियो। त्यही सफलतालाई दोहोर्‍याउँदै एसिया कपमा पुनः स्थान बनाउने लक्ष्य नेपाली टोलीको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७