सन्दीप लामिछानेद्धारा मिचेल स्टार्कको रेकर्ड ध्वस्त
सन्दीप लामिछाने बने एकदिवसीय इतिहासमै सबैभन्दा छिटो १५० विकेट लिने बलर
काठमाडौँः नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा नयाँ इतिहास रचेका छन्। उनले ओडीआई इतिहासमै सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।
आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक शृङ्खलाका दौरान सन्दीपले यो अभूतपूर्व कोशेढुङ्गा पार गरेका हुन्। उनले मात्र ७३ खेल खेल्दै एकदिवसीय क्रिकेटमा १५० विकेटको आँकडा पूरा गरे।
यसअघि यो विश्व कीर्तिमान अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको नाममा रहेको थियाे। स्टार्कले ७७ खेल खेल्दै १५० विकेट पूरा गरेर विश्व कीर्तिमान बनाएका थिए। सन्दीपले स्टार्कको उक्त कीर्तिमानलाई ४ खेल अगावै अर्थात् ७३ औँ खेलमै तोडेर विश्व क्रिकेट जगतमा सनसनी मच्चाएका हुन्।
यसअघि सन्दीपले ओडीआई इतिहासमै सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान समेत आफ्नो नाममा सुरक्षित राखिसकेका छन्। उनले ४२ खेलमा १०० विकेट लिएर अफगानिस्तानका रासिद खानको (४४ खेल) रेकर्ड तोडेका थिए। अहिले १५० विकेटको रेकर्ड पनि आफ्नो नाममा पार्दै सन्दीपले विश्व क्रिकेटकै एक सर्वोत्कृष्ट स्पिनरका रूपमा आफूलाई पुनः प्रमाणित गरेका छन्।
.gif)

.png)

