रसुवा–नुवाकोटका अधिकांश क्षेत्रमा मोबाइल सेवा पुनः सञ्चालन
काठमाडौं : बाढीका कारण अवरुद्ध भएको मोबाइल सेवा पुनः सञ्चालन गर्ने क्रममा नेपाल टेलिकमले प्रभावित क्षेत्रका थप सात स्थानमा बीटीएस साइट सञ्चालनमा ल्याएको छ। यससँगै बाढी प्रभावित क्षेत्रमा रहेका अधिकांश मोबाइल बीटीएस साइट सञ्चालनमा आएका छन्।
टेलिकमका अनुसार रसुवाको नेपाल–चीन सीमामा रहेको रसुवा बोर्डर, अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ बीटीएस साइटमा सेवा सुचारु भएको छ। त्यस्तै नुवाकोटका चारघरे र चारघरे मुलाबारी बीटीएस साइट पनि सञ्चालनमा आएका छन्। रसुवा बोर्डर साइट सञ्चालनमा आएसँगै नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर तथा स्याफ्रुबेँसीदेखि भोटेकोशी करिडोरसम्म मोबाइल सेवा पुनः उपलब्ध भएको छ।
अपर सेन्जेन साइटबाट चिलिमे, लामागाउँ तथा आमाछोङदिमो गाउँपालिका–५ लगायतका क्षेत्रमा सेवा पुगेको टेलिकमले जनाएको छ। छापथोके साइटमार्फत बेत्रावती, काउली, त्रिशूली थ्री ‘बी’, उत्तरगया गाउँपालिका र किस्पाङ क्षेत्रमा मोबाइल सेवा उपलब्ध हुनेछ। यस्तै, जिपजिपे साइट सञ्चालनमा आएपछि कालिका गाउँपालिकाका वडा नम्बर २ र ५, धारापानी तथा देउरालीडाँडामा सेवा पुगेको छ।
गत्लाङ बीटीएस साइटबाट गत्लाङ, गोल्जुङ, चिलिमे, ठूलो भार्खु, शेर्पागाउँ, ठूलो स्याफ्रु, स्याफ्रुबेँसी, खाङजुम र बरिम क्षेत्रमा मोबाइल सेवा उपलब्ध भएको टेलिकमले जनाएको छ। नुवाकोटका चारघरे तथा चारघरे मुलाबारी बीटीएस साइटबाट विदुर नगरपालिका–१२ र १३ मा समेत मोबाइल सेवा सुचारु भएको छ।
नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले विपद्को अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन प्राविधिक टोली निरन्तर परिचालन भइरहेको बताएका छन्। सञ्चार सेवा निरन्तर सञ्चालनमा ल्याउन आवश्यक कामलाई प्राथमिकताका साथ अघि बढाइएको टेलिकमले जनाएको छ।
.gif)

.png)

