बाढीले रसुवामा अझै ३ हजारभन्दा बढी सम्पर्कविहीन


२०८३ भदौ २१ आइतबार ०७:०४ बजे
फाइल फोटो

रसुवा : नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपछि जिल्लामा ३ हजार ७१ जना अझै सम्पर्कविहीन रहेका छन् भने १ हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार उद्धार गरिएकामध्ये १ हजार २२७ नेपाली र ८६ विदेशी पर्यटक छन्। उनीहरूलाई सुरक्षाकर्मी तथा स्थानीयको सक्रियतामा उद्धार गरिएको हो। बाढीका कारण अलपत्र परेका तथा गोसाइँकुण्ड क्षेत्रमा रोकिएका १४५ तीर्थयात्री तथा स्थानीयलाई हेलिकप्टरमार्फत नुवाकोट र काठमाडौं सुरक्षित स्थानान्तरण गरिएको छ। सडक सञ्जाल विच्छेद भएका तथा दुर्गम क्षेत्रमा राहत र उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको अधिकारीले बताए।

बाढीपछि सम्पर्कविहीन हुनेमा २७ नेपाली सेना, २८ नेपाल प्रहरी, १३ सशस्त्र प्रहरी, ७९ सरकारी कर्मचारी तथा २६ बैंक तथा वित्तीय संस्थाका कर्मचारी छन्। जिल्लाभित्रका १ हजार ३७०, अन्य जिल्लाका १ हजार २६२ र २६६ विदेशी पर्यटकसमेत सम्पर्कविहीन रहेको जनाइएको छ।

विपद्का क्रममा विभिन्न स्थानमा १६९ शव फेला परेका छन्। तीमध्ये ६ जनाको सनाखत गरी आफन्तलाई बुझाइएको छ। सनाखत भएका शवमा उत्तरगया–५ का जनक आचार्य, गंगादेवी श्रेष्ठ, पुदुली तामाङ, आशवीर तामाङ, आशिष बानियाँ तथा गोसाइँकुण्ड–६ की छिरिङ ग्याल्मो तामाङ छन्। अन्य शवको सनाखत प्रक्रिया अघि बढाइएको छ। सनाखत हुन नसकेका शवको डीएनए परीक्षणका लागि आवश्यक मुचुल्का उठाउने काम भइरहेको अधिकारीले बताए।

बाढीपहिरोले जिल्लाका १ हजार ५०० निजी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। यस्तै, २८ सरकारी तथा सार्वजनिक निकाय, आठ सामुदायिक विद्यालय, तीन निजी विद्यालय र १४ बैंकका भवनमा क्षति पुगेको छ।

जिल्लाको मुख्य सडक सञ्जालसमेत बाढीले तहसनहस पारेको छ। ४१ किलोमिटर राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएको छ भने ६ पक्की मोटरेबल पुल, ८ ट्रस तथा बेलीब्रिज, एक आर्च पुल र १० झोलुङ्गे पुल बाढीले बगाएको वा क्षति पुर्‍याएको छ। बाढीले जिल्लाका ८ वटा जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुर्‍याएको प्रारम्भिक विवरणमा उल्लेख छ।

बाढीका कारण थातथलोबाट विस्थापित भएका ७ हजार ३३ जनालाई १२ वटा सुरक्षित आश्रयस्थलमा राखिएको छ। धुन्चेस्थित सिटी सेन्टर, कोमिन श्यामे वाङ्फेल मावि, गणेश आधारभूत विद्यालयलगायत स्थानमा उनीहरूका लागि गाँसबासको व्यवस्था मिलाइएको छ।

प्रभावित क्षेत्रमा हालसम्म १३६ पटक राहत सामग्री वितरण गरिएको छ। विपद्का बीच जिल्लाको ८३ प्रतिशत जनसंख्यामा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ। नेपाल टेलिकमको सञ्चार सेवा पनि सम्पूर्ण क्षेत्रमा सञ्चालनमा ल्याइएको जनाइएको छ। सञ्चार सेवा पुनःस्थापनापछि उद्धार तथा राहतका लागि समन्वय गर्न सहज भएको अधिकारीले बताएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७