ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ६ जना पक्राउ


२०८३ भदौ २३ मंगलबार ०८:०५ बजे

काठमाडौं : लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर (खैरो हेरोइन) जस्तो देखिने २ सय २९ ग्राम ७ सय ८० मिलिग्राम पदार्थसहित ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गुल्मी घुर्कोट गाउँपालिका–१ का ३० वर्षीय कस्मिर भुषाल, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१२ का २९ वर्षीय निशान्त रसाइली, पर्सा छिपहरमाई गाउँपालिका–५ का ४० वर्षीय उपेन्द्रकुमार, काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ का २७ वर्षीय अभिषेक तामाङ, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ की २० वर्षीया सरला कार्की र भारत मोतिहारी कल्वारी दुवाहका २१ वर्षीय राहुल प्रसाद रहेका छन्।

प्रहरीका अनुसार कस्मिर र निशान्तलाई ७५ ग्राम ७ सय ८० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित बिहीबार पक्राउ गरिएको हो। त्यस्तै, उपेन्द्र, अभिषेक, सरला र राहुललाई १ सय ५४ ग्राम पदार्थसहित शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। राहुललाई पर्साबाट पक्राउ गरिएको हो भने अन्य पाँच जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

प्रहरीले उनीहरूको साथबाट १ लाख ६० हजार रुपैयाँ नगद, डिजिटल तराजु र ६ थान मोबाइल फोन समेत बरामद गरेको छ। पक्राउ परेकाहरू विरुद्ध आवश्यक अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७