पटाका पड्काउँदा मध्यरातसम्म आगलागी, एक करोडभन्दा बढीको क्षति
विराटनगर : मोरङको सुनवर्षी नगरपालिका–६ झपडतलमा आगलागी हुँदा पाँच वटा संरचना जलेर नष्ट भएका छन् ।
बुधबार साँझ लागेको आगोले स्थानीय दिलबहादुर कार्कीको घर, गाईगोठ, भान्छा र भण्डारघरमा क्षति पुर्याएको हो । प्रहरीका अनुसार कार्कीको काठले बनेको दुईतले घरसहित दुई वटा गाईगोठ, एउटा भान्छा घर र भण्डारघर जलेर नष्ट भएका छन् ।
बुधबार साँझ ६ः४५ बजेदेखि सुरु भएको आगलागी दमकल, स्थानीयवासी र सुरक्षाकर्मीको सक्रियतामा मध्यरातमा नियन्त्रणमा लिइएको थियो ।
आगो निभाउन रतुवामाई र रंगेली नगरपालिका तथा कानेपोखरी गाउँपालिकाबाट दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ ।
आगलागीका क्रममा गाईगोठबाट गाईगोरु निकाल्ने प्रयास गर्दा कार्कीकी नातिनी सुष्मा कार्कीको हातमा सामान्य चोट लागेको छ ।
प्रहरीले पटाका पड्काउने क्रममा आगो सल्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ ।
आगलागीबाट एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको हुन सक्ने अनुमान गरिए पनि क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।
.gif)

.png)




