उता केपी ओली निवासमा प्रहरीको निगरानी, यता नक्सालमा सुरक्षा प्रमुखसँग गृहमन्त्रीको छलफल


२०८२ चैत १४ शनिबार ००:१८ बजे

काठमाडौं :  प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको सरकारी निवास (नक्साल) मा शुक्रबार मध्यराति गृहमन्त्री सुधन गुरुङसहित सुरक्षा निकायका उच्च अधिकारीहरूबीच छलफल जारी रहेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटेर बाहिरिएका गृहमन्त्री गुरुङले पुनः सुरक्षा निकायका प्रमुखहरूलाई छलफलमा राखेका हुन्। स्रोतका अनुसार छलफलमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, काठमाडौं उपत्यका प्रहरी प्रमुख (एआईजी) ईश्वर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल तथा एआईजी गणेश ठाडा मगरलगायत उच्च अधिकारीहरू सहभागी छन्।

गृहमन्त्रीमा नियुक्त भएलगत्तै गुरुङले करिब दुई घण्टा दुई प्रहरी प्रमुखसँग छलफल गरेका थिए। सो क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्ने विषयमा समेत छलफल भएको स्रोतको दाबी छ।

छलफलका क्रममा नेपाल प्रहरीका महानिरीक्षक कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक अर्यालले लिखित आदेश मागेका थिए। त्यसपछि गृहमन्त्री गुरुङ रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठ पुगेका थिए।

पछि गृहमन्त्री गुरुङले सुरक्षा प्रमुखहरूसँग भएको छलफलबारे बालुवाटार पुगेर प्रधानमन्त्री बालेन्द्र शाहलाई जानकारी गराएका थिए। प्रधानमन्त्रीसँगको छलफलपछि उनी पुनः सुरक्षा प्रमुखहरूसँग छलफलमा जुटेका छन्।

यसैबीच, शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ। तर सुरक्षाकर्मीसम्बन्धी विषय तत्काल कार्यान्वयन नगर्ने निर्णय गरिएको छ।

उता, भक्तपुरको गुण्डुस्थित केपी शर्मा ओलीको निवासमा नेपाल प्रहरीको टोली निगरानीका लागि खटिएको छ। भक्तपुर प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली त्यहाँ परिचालन गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७