कार्यालय समय पालना भए/नभएबारे सतर्कता केन्द्रको छड्के
काठमाडौँ : राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधार योजना अनुसार सार्वजनिक सेवा प्रवाह भए/नभएको छड्के गर्न राजधानीबाहिर टोली खटाएको छ।
केन्द्रले आजदेखि लागू भएको परिमार्जित कार्यालय समयको पालना र सेवा प्रवाह चुस्त तुल्याउने उद्देश्यले काठमाडौं उपत्यकाबाहिर नौ जिल्लामा टोली परिचालन गरेको प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए।
भट्टका अनुसार योजनाको गतिविधि र सेवा प्रवाहमा निगरानी तथा छड्के गर्ने गरी आजैदेखि उपत्यकाबाहिर पनि केन्द्रका टोली खटिएका छन्। केन्द्रमा प्राप्त उजुरी तथा गुनासो सम्बोधन गर्ने काम पनि तीव्र गतिमा भइरहेको छ।
नेपाल सरकारले कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकेको छ। केन्द्रले समय पालना, कर्मचारीको कार्यसम्पादन र सेवाग्राहीको काम समयमै सम्पन्न भए/नभएको अनुगमन गरिरहेको छ। केही कार्यालयमा ढिलाइ वा व्यवधान देखिएमा ‘फाइल ट्र्याकिङ’ समेत गरिएको छ।
भट्टले बताए अनुसार, भ्रष्टाचार वा गलत कार्य भेटिएमा तत्काल सुधारका लागि निर्देशन दिइनेछ र आवश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सूचना पठाइनेछ।
केन्द्रले सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा प्रवाहलाई सरलीकरण तथा सहजीकरण गर्ने उद्देश्यअनुसार सम्पूर्ण साधनस्रोत र जनशक्ति परिचालित गरेको छ। दैनिक रूपमा उपत्यकाका विभिन्न कार्यालय, मन्त्रालय, विभाग तथा सरकारी–सार्वजनिक निकायमा अनुमगन, निगरानी र छड्के गर्दै, समय पालना, फाइल अड्किनु वा सेवा प्रवाहमा बाधा आएको अवस्थाबारे प्रतिवेदन फिल्डबाट तयार गर्ने कार्य भइरहेको छ।
.gif)

.png)

