आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी
देशभर बदली, पहाडी क्षेत्रमा भारी वर्षा र तराईमा हुरीबतासको सम्भावना
काठमाडौँ : देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ भने हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कोशीको तराई र मधेसका केही स्थानमा हुरीबतासको समेत सम्भावना छ।
आज राति हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा वर्षा तथा हिमपात र पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र लुम्बिनीका तराईका केही स्थान तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
.gif)

.png)

