विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शाही
मन्त्रालय बाँडफाँट नटुंगिदा सत्ता साझेदारबीच खटपट
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। त्यसका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ। नेकपा एमालेको समर्थनमा साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन्।
तर, विश्वासको मत लिनुअघि नै सत्ता साझेदार दलहरूबीच खटपट देखिएको छ। मन्त्रालय बाँडफाँटमा नेकपा र एमालेबीच सहमति हुन नसक्दा सरकार गठन भएको तीन साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। हाल मुख्यमन्त्री शाही एक्लैले सरकार सञ्चालन गरिरहेका छन्।
मन्त्रालय बाँडफाँटको छलफल टुंगोमा नपुग्दै विश्वासको मतको प्रक्रिया अघि बढाइएको भन्दै एमालेभित्र असन्तुष्टि देखिएको छ। एमालेका एक नेताले मन्त्रालयको विषय टुंगो नलाग्दै विश्वासको मत लिन लाग्दा गठबन्धनभित्र अविश्वास बढेको बताए। मुख्यमन्त्रीले एमालेको साथ नपाए पनि कांग्रेसको समर्थनमा सरकार अघि बढाउन सक्ने सोच राखेको हुनसक्ने भन्दै एमालेले विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ।
४० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २१ सांसदको समर्थन आवश्यक पर्छ। सत्ता साझेदार नेकपा र एमालेसँग २४ सांसद रहेकाले सामान्य अवस्थामा मुख्यमन्त्री शाहीले विश्वासको मत पाउने देखिन्छ। तर, एमालेभित्रको असन्तुष्टिले विश्वासको मतअघि नै कर्णालीको राजनीति नयाँ मोडमा जान सक्ने देखिएको छ। मुख्यमन्त्री शाहीले भने विश्वासको मत लिएपछि दुई दलबीच सहमति गरेर मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आएका छन्।
.gif)

.png)

