सरकारले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज
काठमाडौं : सरकारले बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक र पुलका कारण अवरुद्ध आवतजावत तत्काल सुचारु गर्न भारत र चीनसँग ४२ वटा बेलिब्रिज निर्माणका लागि सहयोग मागेको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सरकारले दुवै छिमेकी मुलुकलाई नेपाललाई तत्काल आवश्यक पर्ने बेलिब्रिजको संख्या उल्लेख गर्दै सहयोगका लागि औपचारिक अनुरोध गरेको हो।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा रहेका अधिकांश पुलमा क्षति पुगेपछि सडक सञ्जाल अवरुद्ध भएको छ। पुल भत्किँदा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका सामग्री पुर्याउनसमेत कठिनाइ भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा तत्काल आवतजावत सुचारु गर्न ४२ वटा बेलिब्रिज आवश्यक पर्ने प्रारम्भिक आकलन गरेको छ। सोही आकलनका आधारमा सरकारले भारत र चीनसँग सहयोग मागेको मन्त्रालय स्रोतको भनाइ छ।
सरकारले अहिले विपद्का बेला विदेशी मुलुक तथा अन्तर्राष्ट्रिय निकायबाट प्राप्त हुने सहयोगलाई आवश्यकताका आधारमा व्यवस्थित गर्ने नीति लिएको छ। त्यसअनुसार सम्बन्धित निकायले पहिचान गरेको आवश्यकता र मागका आधारमा सहयोग स्वीकार तथा परिचालन गर्ने व्यवस्था मिलाइएको छ।
भारत सहयोग गर्न तयार
भारतले नेपाललाई आवश्यक परेको अवस्थामा बेलिब्रिजलगायतका सामग्री तथा प्राविधिक सहयोग उपलब्ध गराउन तयार रहेको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाललाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले नेपालमा आएको विपद्का कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै आवश्यकताअनुसार भारत सहयोगका लागि तयार रहेको बताएका थिए।
नेपाल सरकारले भारत र चीन दुवैसँग बेलिब्रिज निर्माणका लागि सहयोग मागेपछि अब दुवै देशबाट प्राप्त हुने प्रतिक्रियाका आधारमा आवश्यक पुल निर्माण तथा जडानको प्रक्रिया अघि बढाइनेछ।
पुल भत्किँदा राहत तथा उद्धारमा समस्या
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले सडक तथा पुलमा ठूलो क्षति पुर्याएपछि बाढी प्रभावित क्षेत्रसँगको सडक सम्पर्कमा गम्भीर समस्या उत्पन्न भएको छ। विशेषगरी रसुवागढी नाकातर्फ जाने सडक, त्रिशूली करिडोर तथा नुवाकोट–धादिङ हुँदै जोडिने सडक खण्डका पुलहरूमा क्षति पुगेका कारण कतिपय क्षेत्रमा स्थलमार्गबाट पुग्न कठिन भएको छ।
सरकारले तत्काल बेलिब्रिज निर्माण गर्न सकेमा प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन, विस्थापितलाई सुरक्षित स्थानमा सार्न, स्वास्थ्य तथा सुरक्षा सेवा सञ्चालन गर्न र अवरुद्ध सडक सञ्जाल पुनः सञ्चालन गर्न सहज हुने अपेक्षा गरेको छ। सरकारले आवश्यकताअनुसार थप पुल तथा सडक पूर्वाधार निर्माणका लागि पनि छिमेकी मुलुक र अन्य विकास साझेदारसँग सहयोग समन्वय गर्ने तयारी गरेको छ।
.gif)

.png)

