भोटेकोशीमा फेरि बाढी बढ्यो, त्रिशूली तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह
काठमाडौं : चीनतर्फबाट भोटेकोशी नदीमा पुनः बाढी बढेको सूचना प्राप्त भएपछि रसुवादेखि मुग्लिनसम्म त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाले भदौ १२ गते राति ८ः५४ बजे चीनतर्फबाट भोटेकोशी नदीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाएको हो।
प्रहरीले प्राप्त सूचनाका आधारमा नदी आसपासका बासिन्दालाई तत्काल सतर्क रहन आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पनि त्रिशूली नदीको तटीय क्षेत्रमा अर्को सूचना जारी नभएसम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।
महाशाखाको सूचनामा भनिएको छ, ‘त्रिशूली नदीको तटीय क्षेत्र (मुग्लिनसम्म) अर्को सूचना नआउदासम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध छ।’
महाशाखाले विशेषगरी त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदी किनारमा नजान, आवश्यक सावधानी अपनाउन र जोखिम देखिए तत्काल सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ।
शुक्रबार साँझ पुनः भोटेकोशीमा बाढी बढेको सूचना आएपछि त्रिशूली नदीको मुग्लिनसम्मको तटीय क्षेत्रलाई उच्च जोखिममा राखिएको हो। स्थानीय प्रशासनले थप सूचना नआएसम्म नदी किनार, खोला तथा जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।
अधिकारीहरूले नदीको बहावमा आएको परिवर्तनलाई निरन्तर निगरानी गरिरहेको बताएका छन्। थप सूचना तथा जोखिमको अवस्था प्राप्त भएपछि आवश्यक निर्णय गरिने जनाइएको छ।
.gif)

.png)

