माटोमुनिबाट रोएको आवाज आयो, खोज्दा अचेत अवस्थामा भेटिइन् ६ वर्षीया बालिका


२०८३ भदौ १३ शनिबार ०१:४२ बजे

काठमाडौं :  रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकाको जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरीको खोज तथा उद्धार टोलीले शुक्रबार साँझ करिब ६ः१५ बजे बालिकालाई माटोमुनिबाट सकुशल उद्धार गरेको हो।

सशस्त्र प्रहरीका अनुसार टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा खटिएको टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि तत्काल त्यस क्षेत्रमा खोजी थालेको थियो। खोजीका क्रममा माटोमुनि पुरिएको अवस्थामा बालिकालाई फेला पारेर उद्धार गरिएको हो।सीमा सुरक्षा चौकी (बीओपी) टिमुरेबाट सप्रनिको कमान्डमा परिचालित ६ जनाको टोलीले बालिकालाई उद्धार गरी चौकीमा ल्याएको थियो।

उद्धार गर्दा बालिका गम्भीर अवस्थामा रहेकी र अचेत अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। चौकीमा ल्याएपछि उनलाई न्यानो बनाएर राखिएको छ।बालिकाको अवस्था कमजोर रहेकाले थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गर्ने पहल भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। तर रातिको समय भएकाले तत्काल हेलिकोप्टर उडान सम्भव नभएको बताइएको छ।

माटोमुनिबाट आएको बालिकाको रोएको आवाज सुनेर उद्धार टोलीले समयमै खोजी सुरु गर्नु घटनाको निर्णायक क्षण बनेको थियो। आवाज नसुनेको भए बालिकालाई फेला पार्न थप कठिन हुने अवस्था रहेको उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले बताएका छन्।

बाढी तथा पहिरोबाट प्रभावित टिमुरे क्षेत्रमा सुरक्षाकर्मीहरूले जोखिमका बीच खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। प्रभावित क्षेत्रमा अझै पनि पहिरो तथा थप बाढीको जोखिम रहेकाले उद्धार टोलीले उच्च सतर्कताका साथ खोजी गरिरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७