अदालतको आदेश: सम्पादक श्रेष्ठलाई पक्राउ नगर्नू
समाचारकै विषयलाई लिएर सम्पादक किशोर श्रेष्ठलाई पक्राउ नगर्न प्रहरीलाई रोक ।
काठमाडौँ : उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा सम्पादक किशोर श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश अच्युत कुइकेलको इजलासले श्रेष्ठले दायर गरेको निषेधाज्ञासम्बन्धी निवेदनमा सुनुवाइ गर्दै निवेदनको अन्तिम टुंगो नलागेसम्म उनलाई धरपकड, पक्राउ वा थुनामा राख्नेलगायतका कार्य नगर्न जिल्ला प्रहरी परिसर, ललितपुरका नाममा बुधबार अन्तरिम आदेश जारी गरेको हो।
श्रेष्ठविरुद्ध ‘जनआस्था’ साप्ताहिकमा २०८३ साउन २७ गते प्रकाशित ‘सुध्रिनोस म्याडम, अझै समय छ’ शीर्षकको समाचारलाई लिएर प्रेस काउन्सिल नेपालमा उजुरी परेको थियो। उक्त उजुरीमाथि कारबाही चलिरहेको अवस्थामा आफूलाई पक्राउ गर्न सक्ने आशंका गर्दै श्रेष्ठले उच्च अदालतमा निषेधाज्ञाको मागसहित निवेदन दिएका थिए।
अदालतले समाचारबारे प्रेस काउन्सिलमा उजुरी परी कारबाहीको क्रममा रहेको र त्यसको टुंगो लागिनसकेको अवस्थालाई समेत आधार बनाएको छ। संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हक तथा सर्वोच्च अदालतबाट यसअघि भएका आदेशलाई समेत ध्यानमा राख्दै अन्तरिम आदेश जारी गरिएको अदालतको आदेशमा उल्लेख छ।
अदालतले विपक्षी जिल्ला प्रहरी परिसर, ललितपुरलाई श्रेष्ठको निवेदनका सम्बन्धमा १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेश दिएको छ।यससँगै प्रेस काउन्सिलमा उजुरीमाथि कारबाही चलिरहेको अवस्थामा सोही समाचारको विषयलाई लिएर श्रेष्ठलाई पक्राउ वा थुनामा राख्न प्रहरीलाई रोक लगाइएको छ।
.gif)

.png)

