बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई २५ लाख १० हजारसम्म राहत
काठमाडौं : भोटेकोशी बाढीमा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका नेपाल प्रहरीका कर्मचारीका परिवारले २५ लाख १० हजार रुपैयाँसम्मको राहत तथा बीमा सुविधा पाउने भएका छन्। नेपाल प्रहरीले मृतक प्रहरी कर्मचारीका परिवारलाई विभिन्न कोष, बीमा तथा सामाजिक सुरक्षा योजनामार्फत उक्त सुविधा उपलब्ध गराउने जनाएको हो।
प्रहरीका अनुसार कल्याण कोषबाट ३ लाख रुपैयाँ, किरिया खर्चबापत ४० हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकबाट ५ लाख रुपैयाँको बीमा, राष्ट्रिय बीमा संस्थानबाट २ लाख रुपैयाँ र नेपाल प्रहरी संगठनबाट विशेष राहतस्वरूप १० लाख रुपैयाँ उपलब्ध हुनेछ।
यस्तै, कर्मचारी सञ्चय कोषबाट दुर्घटना क्षतिपूर्तिबापत २ लाख रुपैयाँ र किरिया खर्चबापत ४० हजार रुपैयाँ प्राप्त हुनेछ। नागरिक लगानी कोषका स्वैच्छिक बचतकर्ताले प्रचलित सर्तअनुसार दुर्घटना बीमाबापत २ लाख रुपैयाँ तथा किरिया खर्चबापत ३० हजार रुपैयाँ पाउने व्यवस्था रहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। उनले प्रभावित प्रहरी परिवारको जीविकोपार्जनमा सहयोग गर्नुका साथै मृतक तथा प्रभावित प्रहरी कर्मचारीका छोराछोरीको शिक्षाका लागि आवश्यक व्यवस्था मिलाउने बताएका छन्।
प्रहरी कल्याण कोषबाट लिइएका ऋणमा आवश्यकताअनुसार सहुलियत तथा मिनाहाको व्यवस्था गरिने पनि उनले बताएका छन्। नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेले मृतक प्रहरी कर्मचारीका परिवारलाई संगठन, कल्याण कोष तथा सम्बन्धित बीमा र सामाजिक सुरक्षा निकायबाट प्राप्त हुने सुविधालाई समन्वय गरी उपलब्ध गराइने जानकारी दिए।
प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक धर्मराज भण्डारीले राहत तथा सुविधाका लागि आवश्यक प्रक्रिया अघि बढाइएको बताए। भोटेकोशी बाढीमा हालसम्म तीन प्रहरी कर्मचारीको मृत्यु भएको छ भने २५ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। बाढीपछि प्रहरीले खोज तथा उद्धारसँगै प्रभावित प्रहरी कर्मचारी र उनीहरूका परिवारका लागि विशेष सहयोगको व्यवस्था अघि बढाएको छ।
.gif)

.png)

